नेपालको आर्थिक विकासमा पर्यटन को महत्व

#नेपालको आर्थिक विकासमा पर्यटन को महत्व
नेपालको आर्थिक विकासका लागि पर्यटनको ठूलो महत्व छ । विश्वमा नै पर्यटनले एउटा प्रमुख उद्योगको रूप लिदै गएको छ । विभिन्न देशहरूमा उत्पादन वा आयात निर्यात हुने पदार्थहरू वा सामाजिक सेवाको एउटा ठूलो भाग पर्यटनको क्षेत्रमा खर्च हुन्छ वा पर्यटनबाट लाखौँ मानिसहरूलाई रोजगारी पनि प्राप्त हुन्छ ।

आर्थिक पक्ष अहिलेको २१ औं शताब्दीको विश्वमा विकसित देशहरूका लागि विकास विस्तृतीकरण र विकासोन्मुख देशहरूका लागि पूर्वाधार निर्माणको महत्वपूर्ण कडी भएको छ । सुरुका दिनमा वा १९ औं शताब्दीअगाडि पर्यटनको आर्थिक प्रभाव वा यस व्यवसायले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा कस्तो प्रभाव पार्छ भन्ने कुरा खासै जानकारी र चासो थिएन । २० औं शताब्दीमा पर्यटन विश्वव्यापी फैलावट र राष्ट्रिय रूपमा पनि यसको विकासले ओगटेको स्थान र यात्रा, यात्रु र पर्यटकीय वस्तुमा भएको विकास, सुविधा र परिमार्जनले यसलाई विकल्परहित, धुवाँरहित र सदावहार उद्योगको रूपमा स्थापित गरायो । २१ औं शताब्दी त यस्तो युग भएको छ कि पर्यटन उद्योग कुनै सीमा, धर्म, जात जातिको अवरोध तोडी र स्थल, हवाई, अन्तरिक्षसम्म फैलिएको छ । ती सबै व्यावसायिक दृष्टिकोणले संचालित छन् । पर्यटन व्यवसाय सावधानीपूर्वक वा असल व्यवस्थापकीय ढंगबाट संचालन गर्न सके सधँै मुनाफायुक्त, कम जोखिम र निरन्तर चल्ने देखिन्छ । आर्थिक पक्षको कुरा गर्दा यस उद्योगले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पारेको हुन्छ । विशेषगरी प्रत्यक्ष रूपमा पर्यटन स्थल, त्यसको व्यवस्थामा संलग्न निकाय, होटेल, ट्राभल एजेन्सी, अन्य एजेन्सीहरू, एयरलाइन्सलगायत पर्यटकले प्रयोग गर्ने विभिन्न उत्पादक उद्योगहरू पर्दछन् भने अप्रत्यक्ष रूपमा पर्यटक प्रयोगका वस्तु उत्पादन गर्ने काममा संलग्न व्यक्तिहरूसमेत पर्दछन् । यसलाई सजिलो तरिकामा पर्यटकसँग प्रत्यक्ष संलग्न हुने र त्यस्ता कार्यमा संलग्न तर पर्यटकसँग कुनै सम्पर्कमा नपुग्नेहरू रहन्छन् । जस्तो क्युरियो सामान र व्यापारीहरू पर्यटकसँग सम्पर्कमा हुन्छन् तर त्यसको निर्माणकर्ता, उत्पादनकर्ता र कच्चा पदार्थ उपलब्ध गराउनेहरू प्रत्यक्ष सम्पर्कमा हँुदैनन् । तर उनीहरू पर्यटन उद्योगको विकास र विस्तारबाट बढी फाइदा लिन पाउँदछन् । राज्यको भरपर्दो र नियमित आम्दानी, बढ्दो बेरोजगारी समस्या कमी गर्ने माध्यमसमेत पर्यटन उद्योग बनेको छ । त्यसैले अहिले पर्यटन उद्योगको आर्थिक प्रभाव र महत्व अन्तर्राष्ट्रिय, राष्ट्रिय, स्थानीय र व्यक्तिको पारिवारिक रूपमा समेत देखिएको छ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भएको संलग्नता र यसबाट भएको आम्दानीले व्यक्ति विशेषको जीवनस्तरलाई समेत असर गरेकोले पर्यटनको आर्थिक प्रभाव असीमित देखिन्छ ।

धुवाँरहित उद्योगको रूपमा विश्वव्यापी बन्दै गएको पर्यटन व्यवसाय संसारका सबै देशहरूका लागि दरिलो आर्थिक अवसर प्रमाणित भइरहेको छ । प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको कुशल सम्पादन एवं व्यवस्थापनबाट पर्यटनले राज्यको आर्थिक जगत्सँग सम्बन्धित हरेक पक्षहरूमा प्रभावित गर्दछ भन्ने कुरा सबैले बुझ्न थालेका छन् । राष्ट्रिय आम्दानी, प्रतिव्यक्ति आय, करको बढोत्तरी, विदेशी मुद्रा आर्जनदेखि बेरोजगारी समस्या समाधानका लागि समेतमा पर्यटनले सकारात्मक भूमिका खेलेको छ । हुन त पर्यटनले कुनै पनि देशको आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक वातावरणजस्ता कुराहरूमा प्रभाव परिरहेको हुन्छ । तर अन्य प्रभावको दाँजोमा आर्थिक प्रभाव भने निकै महत्वपूर्ण मानिन्छ । अहिले विकासोन्मुख देशहरूका लागि आर्थिक प्रगतिको मूल मार्ग नै पर्यटन बन्न पुगेको छ ।

विश्वमा भैरहेका केही दैवीय दःखद् घटनाक्रम र केही मानवीय समस्याका कारण उत्पन्न दुःखद् पक्षले भने पर्यटनमा नकारात्मक प्रभाव परेको देखिन्छ । अहिले पनि नेपालको वर्तमान परिस्थितिले नेपालको पर्यटन बजारलाई नकारात्मक प्रभाव पार्न छोडिसकेको छैन । वि. सं. २०४६ साल पछाडि नेपालमा हुदैँ आएको राजनैतिक आन्दोलन र त्यसबाट उत्पन्न भएको अव्यबस्थाले नेपालको आन्तरिक र बाह्य पर्यटनमा सिथिलता देखाइरहेको छ । नेपालमा पर्यटक आवागमनको तथ्यांकलाई हेर्ने हो भने नेपालमा वि. सं. २०४६ साल अगाडिको जुन पर्यटक आगमनको बृद्धिदर थियो त्यो अहिलेसम्म हुनसकेको छैन । त्यसका लागि गैर सरकारी र सरकारी तवरबाट पर्यटन उद्योगमा नकारात्मक प्रभाव नदेखाउने भनी गरिएका प्रतिबद्धताहरू पनि सही रुपमा राजनैतिक दहरूबाट पालना हुनसकेको देखिदैन । यसरी पर्यटकीय गतिबिधिमा कमी आउनुको मुख्य कारण शान्ति र सुशासन कमजोर हुनु हो । किनभने आनन्द र मनोरञ्जनका लागि पैसा खर्च गर्ने पर्यटकहरू आफ्नो लगानी डर त्रास र थुनिएर सक्न चाँहदैनन् । तर नेपालमा वि. सं. २०४६ साल पछि निजी क्षेत्रबाट पर्यटन उद्योगमा लगानी भने ह्वात्तै बढेको छ र यहाँको राजनैतिक अस्थिरताले उनीहरूमा उत्साह थप्न सकेको छैन ।

सन् १९६० को दशकमा पर्यटनलाई केवल विदेशी मुद्राको आर्जनको माध्यमका रूपमा मात्र हेरिएको थियो र पर्यटनको आर्थिक पक्ष त्यसैमा मात्र सीमित गरिएको थियो । तर जब विश्वमा पर्यटनलाई व्यवसायको रूपमा असर पारेको महसुस हुन थाल्यो । प्रायः पर्यटकहरूको आगमनमा वृद्धि भएका देशहरूले विदेशी मुद्रा मात्र आर्जन भएको नभई यसबाट देशको गार्हस्थ उत्पादनमा वृद्धि भएको, राष्ट्रिय आम्दानी बढेको, घरेलु तथा अन्य उद्योग बढेको, अन्तर्राष्ट्रिय व्यापारमा वृद्धि भएको, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बेरोजगारी समस्या सुल्झेको, प्रतिव्यक्ति आम्दानीमा वृद्धि भएको, मुद्रा सोधनान्तर स्थितिमा सकारात्मक पक्ष देखापरेको अनुभव गर्न थाले । विशेषगरी विकसित देशहरूभन्दा पनि विकासोन्मुख देशहरू यसबाट बढी प्रभावित बन्न पुगे । प्राकृतिक र ऐतिहासिक सम्पदाजस्ता कुराले धनी भएका देशहरूले पर्यटनलाई मूल उद्योगको रूपमा अगाडि बढाए । नेपाल, स्वीट्जरल्यान्ड, थाइल्यान्ड, स्पेन र न्युजिल्यान्डजस्ता देशहरूको आर्थिक उन्नति एवम् विकासका लागि पर्यटन विकल्परहित बन्न पुगेको छ ।

यस निर्दिष्ट केही विषयहरू रोजगारीको अवसर, स्थायी रोजगारी र अस्थायी रोजगारी, प्रतिव्यक्ति आय, कुल गार्हस्थ उत्पादन बाहिरी र आन्तरिक रूपमा पुँजीको प्रवाह जस्ता विषयहरू महत्वपूर्ण रहेका छन् । विश्व पर्यटनको स्वरूपलाई हेर्दा आर्थिक रूपमा पर्यटकीय गतिविधि विभिन्न समस्याहरूका बाबजुद पनि त्यति नकारात्मक भने छैन । पर्यटन अन्तर्राष्ट्रिय रूपमा आर्थिक विकासको महत्वपूर्ण माध्यम बनेर देखापर्दै आउन थालेको छ । विकसित वा विकासोन्मुख सबै देशहरूले पर्यटन उद्योग वा व्यवसायलाई देश र जनताको आर्थिक समृद्धिका लागि आवश्यक ठान्न थालिसकेका छन् । कम लगानी वा धुवाँरहित उद्योगको रूपमा रहेको यस व्यवसायले अर्थतन्त्रको हरेक पक्षमा सकारात्मक परिणामहरू देखाउन थालिरहेको छ । सन् १९६० को दशकतिरसम्म पर्यटनलाई अवलम्बन गर्ने देशहरूले यसलाई केवल विदेशी मुद्रा आर्जनको माध्यममात्र ठानेका थिए । तर विश्वभर पर्यटनलाई व्यवसायको रूपमा अवलम्बन गरिन थालियो । यसले विदेशी मुद्राको मात्र आर्जन भएको नभई देशको ग्राहस्थ उत्पादन वृद्धि भएको, राष्ट्रिय आम्दानी बढेको, घरेलु तथा अन्य उद्योग व्यवसायको वृद्धि भएको, अन्तर्राष्ट्रिय व्यापार बढेको, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बेरोजगारी समस्या सुल्झेको, प्रतिव्यक्ति आम्दानी वृद्धि भएको, मुद्रा सोधनान्तर स्थितिमा सकारात्मक पक्ष देखापरेको आदि सकारात्मक प्रभावहरू भएका कारण पर्यटन चल्तीको व्यवसायको रूपमा स्थापित हुन थाल्यो । सांस्कृतिक र प्राकृतिक सम्पदा भएका देशहरूले समग्र आर्थिक विकास र देशको उन्नतिका लागि पर्यटनलाई विकल्परहित तरिकाले अगाडि ल्याउन थाले । बीसौं शताब्दीमा त्यो सम्भावना चरमोत्कृष्ट रह्यो भने २१ औं शताव्दी त्यसको सफल कार्यान्वयनको रूपमा लम्किरहेको छ । पर्यटन विकासको पूर्वाधारको विकासका लागि देशका विभिन्न भागमा विकासका आवश्यक तत्वका रूपमा रहेका यातायात, विद्युत्, सञ्चार, खानेपानीजस्ता विकास निर्माणका कामहरू पनि अगाडि बढाउनुपर्ने भएकाले क्षेत्रीय विकासलाई समेत यसले बल पु¥याउँदछ ।

वास्तवमा पर्यटन व्यवसायको सफल कार्यान्वयनबाट विदेशी मुद्राको आर्जन, रोजगारी, कुल गाहस्थ उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धि, प‘ुजीको प्रवाह आदिको वृद्धि साथै पर्यटकीय सुविधाजनक र पर्यटकीय खपतका वस्तु उत्पादनको व्यावसायिकताको वृद्धिले राज्यले मुख्यरूपमा निम्नानुसारको राजस्व वा करहरू प्राप्त गर्दछ जस्तै सम्पत्ति कर, आयत कर, बिक्री कर, आय कर, होटल कर, यातायात कर र मनोरञ्जन कर । वास्तवमा पर्यटनको आर्थिक पक्षको कुरा गर्दा यसको प्रभाव सर्वव्यापी पर्दछ । किनभने कुनै पनि देशको पर्यटनको विकासले वैदेशिक र घरेलु मुद्राको चलनचल्तीको प्रवाहलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा वृद्धि गराउँदछ । मुद्रा प्रवाहमा वृद्धि आउनु भनेको आम्दानीका स्रोत बढ्नु र खर्च गर्ने क्षमतामा वृद्धि हुुनु पनि हो । जसले समग्रमा राष्ट्रिय आय एवं प्रतिव्यक्ति आयमा समेत सकारात्मक प्रभाव देखाउँदै जान्छ । नेपालजस्तो विकासोन्मुख देशका लागि धार्मिक सांस्कृतिक समन्वयको यो नमूना पर्यटन व्यबसायको बृद्धिका लागि एउटा महत्वपूर्ण पक्ष सावित गराउन सकियो भने हामीले ती उपलव्धिहरु सजिलै हासिल गर्न सक्दछौं ।

Comments

Popular posts from this blog

निबन्ध: जैविक विविधता र नेपाल

नेपालमा बैंकिंग: अवस्थित परिदृश्य(Banking in Nepal: Existing scenario)